नीति तथा कार्यक्रम कार्यान्वयनमा राप्रपाको चासोः समय सङ्कुचित गरिएकोमा आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै त्यसबारे छलफल गर्न उपलब्ध गराइएको समय पर्याप्त नभएको बताएकी छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक ओलीले कार्यान्वयन पक्ष नै सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण विषय भएको औँल्याइन् ।

उनले नीति तथा कार्यक्रम सुन्दा सधैँ सकारात्मक र आकर्षक लाग्ने भए पनि त्यसको सफल कार्यान्वयन नै वास्तविक उपलब्धि हुने धारणा व्यक्त गरिन् ।

ओलीले वर्तमान सरकारसँग दुई तिहाइ नजिकको बहुमत रहेकाले यसपटक कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरे पनि त्यसको परिणाम हेर्न बाँकी रहेको बताइन् ।

संसदीय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले नीति तथा कार्यक्रम प्रस्तुत भएकै दिन छलफल टुंग्याएर पारित गर्ने तयारी गरिएकोप्रति आपत्ति जनाइन् ।

उनले भनिन्, “विगतमा नीति तथा कार्यक्रममाथि छलफलका लागि पाँच दिनसम्म समय दिइन्थ्यो । तर अहिले समय सङ्कुचित गर्दा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका मुद्दा प्रभावकारी रूपमा उठाउन पाउने अधिकार कुण्ठित भएको छ ।”

ओलीले सांसदहरूको बहस र सुझावका आधारमा नीति तथा कार्यक्रम परिमार्जन हुनुपर्ने उल्लेख गर्दै पर्याप्त छलफल बिना कार्यक्रम पारित गर्नु न्यायसंगत नहुने बताइन् ।

उनका अनुसार छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन सभामुखमार्फत निरन्तर ध्यानाकर्षण गराइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =