नबिल इन्भेष्टमेण्ट र द म्यासिफ होटलबीच आईपीओ तयारीसम्बन्धी सम्झौता

काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेडबीच कम्पनीलाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने तयारीका लागि संस्थागत परामर्श सेवा (IPO) सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आवश्यक कानुनी तथा संस्थागत तयारी गर्ने तथा भविष्यमा आईपीओ निष्कासनका लागि आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्नेछ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ले हस्ताक्षर गरेका छन् ।
ग्वार्को, ललितपुरस्थित ‘रोयल टुलिप काठमाडौं’ नामबाट सञ्चालित द म्यासिफ होटल फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्रान्ड ‘रोयल टुलिप’ अन्तर्गत सञ्चालनमा रहेको पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हल उपलब्ध छन् । कम्पनीका अनुसार यो नेपालमै सबैभन्दा धेरै कोठा भएको होटलमध्ये एक हो ।
आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा अत्याधुनिक सुविधा सम्पन्न हेल्थ क्लब, स्पा, इन–हाउस रेस्टुरेन्ट तथा विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सम्मेलन हलहरू रहेका छन् । होटलले ग्राहकलाई उच्चस्तरीय सेवा तथा आरामदायी बसाइको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नबिल इन्भेष्टमेन्टले होटललाई सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । आवश्यक तयारी पूरा भएपछि नियामक निकायसँग आईपीओ निष्कासनका लागि अनुमति मागिने कम्पनीले जनाएको छ ।








