गुडिया र अचार बनाएर आर्जन गर्दै तुलसीपुरका महिला

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन ।
तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उनले भनिन् ।
त्यस्तै, तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त छिन् । उनले घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गर्छिन् ।
“पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पथ्र्यो”, लामिछानेले भनिन्, “अब त हामी आफैँ कमाउने भइसकेका छौँ ।” उनीहरू उदाहरणमात्रै हुन् । अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन् ।
सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन् । तुलसीपुर ६, ७ र ९ नं वडाका महिलालाई तालिम दिइएको थियो ।
जसमा २५ जना अचार बनाउने, ४७ जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए । उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन् ।
खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् । त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन् ।








