प्रविधिको अवलम्बन अब अपरिहार्य छ: मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व परिवेशअनुसार प्रविधिको अवलम्बन अपरिहार्य भइसकेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विश्व प्रविधिमुखी बनिसकेको उल्लेख गर्दै नेपालले पनि ढिलो–चाँडो नयाँ प्रविधिलाई आत्मसात गर्नैपर्ने बताए ।

संवैधानिक व्यवस्थाबारे चर्चा गर्दै उनले प्रदेश र संघीय कानून बाझिएमा संघीय कानून नै लागू हुने स्पष्ट पारे । यातायात क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानून निर्माण र आवश्यक लबिङमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

गत वर्ष राइड शेयरिङ सेवालाई कानूनी मान्यता दिँदा भएको विरोधको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्व बुझाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘संविधानले स्पष्ट भनेको छ कि प्रदेश र संघको कानून बाझिएमा संघकै कानून लागू हुन्छ । त्यसैले सबै कुरा प्रदेश सरकारको एकल अधिकारभित्र मात्र पर्दैनन् । हामी प्रविधिमा नगई सुखै छैन । संसार प्रविधिमा गइसक्यो, ढिलो वा चाँडो हामीले पनि यसलाई आत्मसात गर्नैपर्छ । यो कसैको व्यवसाय विस्थापित गर्न वा लगानी निरुत्साहित गर्न ल्याइएको होइन ।’

मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायीहरूले राज्यलाई तिर्दै आएको कर, रुट पर्मिट दस्तुर तथा नवीकरण शुल्कको विषय पनि उठाएका थिए । उनले दर्ता भएर सञ्चालनमा रहेका सवारी साधन र राइड शेयरिङमार्फत सञ्चालन हुने सवारीबीचको कानूनी तथा व्यवहारिक भिन्नतालाई व्यवस्थित गरिने बताए ।

राज्यलाई विधिवत रूपमा कर तिर्ने व्यवसायीहरूको हित संरक्षण गर्दै नयाँ प्रविधिलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =