फाइभ स्टार होटलमा सांसद अभिमुखीकरणप्रति आशिका तामाङको असन्तुष्टि, ‘पुराना र हामी नयाँमा के फरक ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सांसदहरूका लागि फाइभ स्टार होटलमा आयोजना गरिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमप्रति असन्तुष्टि जनाएकी छन् । उनले आफ्नै पार्टीको व्यवहारमाथि प्रश्न उठाउँदै परिवर्तनको नाराभन्दा व्यवहार फरक देखिएको टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले संसद्‌भित्रै पर्याप्त सभाहल हुँदाहुँदै बाहिर महंगा होटलमा कार्यक्रम गर्नु आवश्यक नभएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर ?’

तामाङले यस्ता कार्यक्रमका लागि हुने खर्चको पारदर्शितामाथि पनि प्रश्न उठाएकी छन् । ‘बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने ?’ भन्दै उनले सुरक्षा कारण देखाएर महंगा होटल रोजिएको हो भने सुरक्षा केवल एक दिनका लागि मात्रै चाहिने हो भन्ने प्रश्नसमेत गरेकी छन् ।

उनले परिवर्तन र मितव्ययिताको कुरा गर्नेहरूले व्यवहारमा पनि त्यसलाई लागू गर्नुपर्ने उल्लेख गर्दै पुरानै शैली दोहोरिए नयाँ र पुरानामा फरक नदेखिने टिप्पणी गरेकी छन् ।

‘हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’ उनले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =