संविधान संशोधन गर्ने यो उपयुक्त समय होइन: नेता पोखरेल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले संविधान संशोधन गर्न अहिले उपयुक्त समय नभएको बताएका छन् ।
शनिवार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय सार्वभौमिकता र जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू नै संकटमा परेको अवस्थामा संविधान संशोधनको बहस अघि बढाउनु जोखिमपूर्ण हुने बताए ।
वर्तमान परिस्थिति लोकतान्त्रिक शक्तिहरू कमजोर र अधिनायकवादी प्रवृत्ति बलियो बन्दै गएको उल्लेख गर्दै उनले संविधान संशोधनको पेन्डोरा बक्स खोल्न नहुनेमा जोड दिए । पोखरेलले वर्तमान संविधान राजनीतिक दलहरूबीचको सम्झौताबाट बनेको दस्ताबेज भएकाले यसमा धेरै अपूर्णता र अन्तर्विरोध रहेपनि अहिले संशोधनको समय नभएको जिकिर गरे ।
उनले गत वर्षको भदौ २३ र २४ गतेको घटनापछि मुलुकमा देखिएको राजनीतिक घटनाक्रमलाई प्रतिक्रान्तिको संज्ञा दिए । हाल राष्ट्रियता, वाम आन्दोलन, राजनीतिक दल र जनविश्वास सबै संकटमा परेको उनको दाबी छ । प्रतिगामी सोच बोकेको शक्तिको नेतृत्वमा संविधान संशोधन प्रक्रिया अघि बढे उपलब्धिहरू नै गुम्ने खतरा रहेको बताए ।
संशोधन अग्रगमनतर्फ हुनुपर्ने उल्लेख गर्दै उनले अहिले नेतृत्व गरिरहेको शक्तिको सोच नै प्रतिगामी रहेको दाबी गरे । पोखरेलले संविधान परिवर्तनशील र संशोधनयोग्य दस्ताबेज भएपनि शक्ति सन्तुलन कमजोर भएको अवस्थामा संशोधन प्रक्रिया अगाडी बढाउँदा राजनीतिक ‘बार्गेनिङ’ मा परिणत हुने खतरा रहेको औँल्याए । हतारमा संशोधन प्रक्रिया अघि बढाउँदा महत्त्वपूर्ण संवैधानिक अधिकारहरू कमजोर बन्न सक्ने उनको भनाई छ ।
उनले भने ‘यो संविधान संशोधनको पेण्डोरा अहिले खोल्ने हो की होइन ? हामीले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको स्थिति छ । राष्ट्रिय सार्वभौमिकता धरापमा परेको स्थिति छ, राष्ट्रियता र हामीले प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि नै धरापमा परेको स्थितिमा संविधान संशोधनको बहस उपयुक्त हो त ? भदौको २३ र २४ गतेको घटनापछि मुलुक जुन परिस्थितिमा गएको छ, त्यो हामीले प्राप्त गरेको अधिकारहरूको कुण्ठित प्रतिक्रान्ति हो । यतिबेला राष्ट्रिय सार्वभौमिकताको क्राईसिस छ, नेपाली वामपन्थी आन्दोलनको क्राईसिस छ, पार्टीको आन्दोलन र उपलब्धिहरूको पनि संकट हो यो । हामीले प्राप्त गरेको उपलब्धिहरू बच्ने नबच्ने कुनै ठेगान छैन । पार्टी, नेता, कार्यकर्ता र जनतामा विश्वासको संकट छ, पार्टी एउटै छ, चुनावमा अर्कै चिन्हमा भोट हालेको छ । पार्टी र नेताको सम्बन्धको संकट छ । नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा संकट छ । यी संकटको स्थितिमा जुन शक्ति जुन माध्यमबाट आजको राज्यसत्ताको बागडोर सम्हालेको छ, त्यो शक्तिको नेतृत्वमा संविधान संशोधनको पेण्डोरा खोल्दिने हो ? यो गम्भीर प्रश्न छ । संशोधन गर्ने भनेको अग्रमगमतर्फ हो । उसको सोच नै प्रतिगमन छ, प्रतिगामी सोच छ । यद्यपि यसको कारक हामी राजनीतिक दलहरू पनि हौँ, राजनीतिक दहरको कमजोरी नभएको भए अहिलेको परिस्थिति पैदा हुँदैनथ्यो । सिंहदरबार जला भनेर आदेश दिने अहिलेका प्रधानमन्त्री, सिंहदरबारको रक्षा गर्न बसेको सेना विभिन्न रासायनिक वस्तुहरूको प्रयोग गरेर सिंहदरबार जलाउँदा पनि हेर्दैन । अनि कसले के के भूमिका खेलेको थियो भन्ने बारेमा हामीले यसको छिनोफाँनो नगरीकन अहिले हामी संविधान संशोधन गरेर अग्रगामी, प्रगतिशील संविधान बनाउँछौँ भन्ने सोचेर हुन्छ ? हामी त्यो दिशामा होमिने हो त ? जो मान्छे हिजो राजा ल्याऊ भन्ने थियो, उही मान्छे सरकारले बनाएको संविधान संशोधन गर्ने आयोगको अध्यक्ष छ । संविधान अपरिवर्तनीय हो भन्नेमा हामी छैनौ । संविधान गतिशील छ । यो संविधान संविधानवादको सिद्धान्तबाट बनेको होइन, फेरि । यो सम्झौताको संविधान हो । राजनीतिक दलहरूको बीचमा भएको सम्झौताको संविधान हो, त्यसकारणले यसमा धेरै अन्तरविरोधी कुराहरू छन् । समाजवाद पनि यसैमा छ, बहुलबाट पनि यसैमा छ । बहुलबाट र समाजवाद एकै ठाउँमा बस्छन् रु यो विविधताको बीचबाट जे सम्बभ हुन्छ, शक्ति सन्तुलनको स्थितिमा अधिकारहरू स्थापित गर्नुपर्छ भनेर बनाइएको संविधान हो । यतिबेला अहिले अल्पमतमा परेको राजनीतिक शक्तिले संविधान संशोधनको पेण्डोरा बक्स खोल्नुहुँदैन । त्यहाँ बार्गेनिङ हुन्छ फेरि । महत्त्वपूर्ण कुराहरू हामीले लुज गर्नुपर्ने हुन्छ ।’
उनले तत्काल संविधान संशोधनको मुद्दा अगाडी नबढाउन राजनीतिक दलहरूलाई आग्रह गरे ।








