परराष्ट्र नीति निर्माणमा प्राज्ञिक र बौद्धिक बहसको भुमिका अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भुमिका अपरिहार्य रहेको बताएका छन् ।

नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सिमित नरहेको बताए ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कुटनीतिक प्राथमिकता रहेको बताए ।

मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताए । परराष्ट्रमन्त्री खनालले औपचारिक कुटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लुएले पुलको काम गर्नुपर्नेमा जोड दिए ।

सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कुटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गरे । सो अवसरमा उनले एनसीडब्लुए जर्नलको नयाँ अङ्क विमोचन गर्दै यसमा समेटिएका गहन लेखहरूले नीति निर्माताहरूलाई विश्वव्यापी भू–राजनीतिक परिवर्तनहरू बुझ्न र उचित निर्णय लिन बौद्धिक आधार प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =