गीत–संगीत राष्ट्रिय पहिचान र एकताको बलियो आधार होः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली गीत–संगीत राष्ट्रिय पहिचान, साझा सम्पती र राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन् ।

नातिकाजी स्मृति समाजद्वारा आयोजित ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान अर्पण समारोह’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला र संस्कृतिले नै देशलाई भावनात्मक रूपमा जोड्ने उल्लेख गरेका हुन् ।

स्वर्गीय नातिकाजी श्रेष्ठको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली संगीतको विकासमा उहाँको भुमिका अनुकरणीय रहेको बताए ।

नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउनुका साथै नेपाली सैनिक संगीतको गौरव समेत बढाएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपाली संगीतको उत्थानका लागि परम्परा र आधुनिकताबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए । परम्परागत धुन र शैलीलाई जोगाउँदै नवीन प्रविधिको प्रयोगमार्फत नयाँ सिर्जना गर्नु वर्तमान पुस्ताका लागि चुनौती र अवसर दुवै रहेको उनले उल्लेख गरे ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई एकताको सूत्रमा बाँध्न संगीतको शक्ति अपार रहेको बताए । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राज्यले सर्जकहरूको सम्मान र हितमा कन्जुस्याइँ गर्न नहुने धारणा पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =