‘हाम्रो बसोवास अवैध भए, हामीले दिएको मतबाट बनेको सरकार पनि अवैध हो’

काठमाडौं । बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो थातथलोबाट विस्थापित नगर्न र भूमिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

‘विस्थापित होइन, स्थापित गर’ भन्ने नाराका साथ संगठित भएका उनीहरूले स्थानीय तथा संघीय सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘स्थानीय सरकारलाई भूमि अधिकार प्रत्यायोजन गर’, ‘डोजर आतंक बन्द गर’, ‘हामीलाई ध्वंश होइन, बाँच्ने अधिकार चाहियो’, र ‘घर उजाड होइन, अधिकार सुनिश्चित गर’ जस्ता मागहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

निर्वाचनका समयमा राजनीतिक दलहरूले लालपूर्जा वितरण गर्ने आश्वासन दिएर मत लिएको तर सत्तामा पुगेपछि उल्टै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरेको आरोप उनीहरको छ । आफूहरुको बसोवास अवैध हो भने आफूहरुको मतबाट बनेको सरकार पनि अवैध हुनुपर्ने उनीहरुको तर्क छ ।

प्रदर्शनका क्रममा वक्ताहरूले सरकारको ध्यान आन्तरिक सुकुम्बासी बस्ती हटाउनुभन्दा मिचिएको सीमा रक्षा र राष्ट्रिय स्वाधीनतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनीहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने र सुशासन कायम गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग समेत राखेका छन् ।

सुकुम्बासी समस्यालाई राजनीतिक दाउपेचको विषय मात्र नबनाई स्थायी समाधानका लागि अविलम्व लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =