प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक सुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गते अवकाश भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छिन् ।
यसअघि २६ फागुनमा न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिसका लागि पठाएको थियो ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी छन् ।
संवैधानिक व्यवस्थाअनुसार रिक्त प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कायममुकायम प्रधानन्यायाधीशको सट्टा कानूनमन्त्री परिषद् सदस्यको हैसियतमा सहभागी हुने व्यवस्था छ ।
यसअघि सरकारले दोस्रोपटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेशसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।








