युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना

काठमाडौं । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ ।
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई विधायिकी प्रक्रियाका बारेमा व्यावहारिक प्रशिक्षण र अभ्यास गराइएको थियो ।
नमूना संसद अभ्यासले सहभागी युवामा मुलुकको विद्यमान संसदीय प्रणाली, कानून निर्माणका चरणहरू र यसको कार्यान्वयन प्रक्रियाका बारेमा गहिरो बुझाइ विकसित गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
स्ववियु परिषद्काअनुसार यस कार्यक्रमले युवाहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अन्तर्वस्तु तथा नेतृत्व विकासका विविध आयामहरूमा क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।
विद्यार्थीलाई संसदीय मर्यादा, सदनमा हुने बहस र छलफलका प्रक्रियासँग प्रत्यक्ष परिचित गराउँदै उनीहरूलाई राज्यका नीति निर्माण तहमा भविष्यमा पुग्न प्रोत्साहित गर्नु यस अभ्यासको मुख्य ध्येय रहेको छ ।
मुलुकको राजनीतिक र प्रशासनिक प्रणालीप्रति युवाहरूको चासो बढाउन र उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार पार्न यस्ता रचनात्मक अभ्यासहरू उपयोगी हुने विश्वास परिषद्ले व्यक्त गरेको छ ।








