संसदीय समितिद्वारा निर्माणाधीन बहुप्रतिक्षित नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अनुगमन

काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अनुगमन गरेको छ ।
समितिले मंगलवार बुहप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्गको अनुगमन गर्दै छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
सुरूङ्गमार्ग पाँच वर्षभित्र सञ्चालनमा ल्याउनेगरी चिनियाँ कम्पनी युसिन–एआरटी जेभीले निर्माण गरिरहेको छ । कुल २ दशमलव ६८ किलोमिटर लम्बाईको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ ।
मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो । अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले निर्माण कार्यको प्रगति विवरणबारे जानकारी गराएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले राजधानी प्रवेशको प्रमुख नाकामा हुने लामो जामको समस्या समाधान गर्न निर्माणाधीन परियोजनाले महत्त्वपूर्ण हुने बताए । उनले विगतमा बाहिरी जिल्लाबाट काठमाडौँ छिर्ने क्रममा नागरिकले घण्टौँ जाम व्यहोर्नुपरेको उल्लेख गर्दै परियोजना सम्पन्न भएपछि आवागमन सहज हुने विश्वास समेत व्यक्त गरे ।
उनले ठूला पूर्वाधार आयोजनामा नेपाली नागरिकको सहभागिता न्यून रहनु चिन्ताजनक विषय भएको समेत बताए । उनले नेपाली श्रमिकलाई आवश्यक लाइसेन्स तथा सीप अभिवृद्धिको अवसर प्रदान गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्नसक्ने र विदेशमा समेत आफ्नो दक्षता प्रयोग गर्नसक्ने गरी अनुभवी बनाउनुपर्ने बताए ।
सभापति चौधरीले भने ‘पहिले पहिले नागरिकले बाहिरी जिल्लाबाट काठमाडौँ छिर्नुपर्दा निकै समय जाममा पर्ने समस्या थियो । यो परियोजना सम्पन्न भइसकेपछि हाम्रो त्यो अमूल्य समय बचत हुन्छ । जापनिज प्रविधिमार्फत निर्माण भइरहेको छ । दुःखको कुरा चाहिँ के छ भने नेपाली नागरिकको सहभागिता यो प्रोजेक्टमा न्यून रहेको छ । नेपाली श्रमिकले पनि लाइसेन्स पायो भने विदेशमा गएर पनि आफ्नो सीपको सदुपयोग गर्नसक्ने र अन्तर्राष्ट्रिय मापदण्डको काम पनि गर्न सक्नुहुन्थ्यो ।’
जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका छन् ।








