सरकारलाई रास्वपा सांसद खतिवडाको प्रश्नः न्यायका लागि कहिलेसम्म सडकमा लड्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा सङ्घर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार बसेको बैठकमा बोल्दै सांसद खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

उनले न्याय प्राप्तिका लागि पीडितहरू विगत ६–७ महिनादेखि निरन्तर सडक सङ्घर्षमा रहेको उल्लेख गरिन् । उनले मन्त्रीहरूलाई लक्षित गर्दै पीडित परिवारको मर्यादा र उनीहरूको मागप्रति संवेदनशील हुन आग्रह गरिन् । ‘७६ जनाको ज्यान गएको घटनामा एक जना संसदमा हुनुहुन्छ भने बाँकी ७५ जना अहिले पनि न्यायका लागि सडकमै हुनुहुन्छ । आफ्ना मागहरू लिएर मन्त्रीको कार्यकक्षमा पुग्दा ढोकामा रहेका सुरक्षाकर्मीबाट समेत पीडितहरूले दुव्र्यवहार खेप्नुपरेको छ। यो अत्यन्तै दुःखद् पक्ष हो । न्यायका लागि बालबालिकाहरू समेत सडकमा पुग्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ? शहीद परिवारले कहिले न्याय पाउँछन् ?’ उनले भनिन् ।

सांसद खतिवडाले न्याय पाउनका लागि सधैँ सडकमा आन्दोलन नै गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने र राज्यका निकायबाटै सहजै न्यायको अनुभूति हुनुपर्नेमा जोड दिइन् । पीडित परिवारको तर्फबाट आफूले यो विषय उठाएको जानकारी दिँदै उनले शहीद परिवारलाई अविलम्व न्याय प्रदान गर्न सरकारसँग माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =