सार्वजनिक जग्गाहरूलाई अतिक्रमणबाट जोगाउन नदी किनारमा ‘बुद्ध पार्क’ बनाउन नगरप्रमुख महर्जनको प्रश्ताव

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको कार्य पूर्ण भएको बताएका छन् ।

२५७० औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालयको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् । नगरप्रमुख महर्जनले आफ्नो पहिलो कार्यकालमा ललितपुरका विहार, बही, चैत्य र मन्दिरहरूको पुनर्निर्माण तथा जीर्णोल्वारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै ती कार्यहरू हाल सम्पन्न भइसकेको उल्लेख गरे ।

सम्पदा संरक्षणको सन्दर्भमा पूर्व नगरप्रमुख स्व. बुद्धराज बज्राचार्यको योगदानको चर्चा गर्दै महर्जनले पुनर्निर्माण प्रक्रियामा सहयोग पु¥याउने भारत र जापान सरकारप्रति आभार प्रकट गरे । मूर्त सम्पदाका साथै अमूर्त सम्पदाको जगेर्नाका लागि महानगरले बुद्ध जयन्ती समारोह समिति र हरेक चार वर्षमा हुने ‘महासम्यक’ पर्व सञ्चालनार्थ ‘अक्षय कोष’को व्यवस्था गरी आर्थिक स्थायित्व प्रदान गरेको जानकारी समेत उनले दिए ।

काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहेका महर्जनले नदी किनारका सार्वजनिक जग्गाहरूलाई अतिक्रमणबाट जोगाउन नयाँ प्रश्ताव अघि सारे । नदी किनारका खाली क्षेत्रहरूमा बुद्धका मूर्तिसहितका आकर्षक पार्कहरू निर्माण गर्नसके त्यसको उचित व्यवस्थापन हुने र भविष्यमा पुनः हुन सक्ने अतिक्रमणलाई रोक्न सकिने उनको तर्क छ ।

उनले यस प्रश्तावलाई छिट्टै उपत्यका मेयर्स फोरममा छलफलको विषय बनाउने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यमा बुद्धिजिवी तथा बौद्ध विद्वानहरूको रचनात्मक सहयोगको अपेक्षा गरे ।

नेपालको संविधानबमोजिम मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान रहेकाले यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =