महान्यायाधिवक्ता कँडेलको योग्यताविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कँडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाउँदै दायर तीनवटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटहरूको पेसी तोकिएको हो ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित चार जना तथा शिवराज बरालले महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् ।
यसअघि अधिवक्ता बस्नेतले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
रिट निवेदनमा कँडेलको योग्यता नेपालको संविधानअनुसार नपुगेको दाबी गरिएको छ । निवेदकहरूले संविधानको धारा १५७(९)(३०) र १२९(५) बमोजिम आवश्यक योग्यता पूरा नभएको उल्लेख गर्दै नियुक्ति र सोही दिन गरिएको शपथलाई उत्प्रेषण आदेशमार्फत बदर गर्न माग गरेका छन् ।
साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।








