अमेरिकी विशेष दूत सर्जियो गोर काठमाडौँ आउँदै, प्रधानमन्त्री बालेनलाई भेट्ने इच्छा !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन् । तीनदिने नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक र कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं रहँदा गोरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने तय भएको छ । साथै, उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सँग पनि छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाह सँग उनको भेट हुने/नहुने विषयमा भने अझै अनिश्चितता कायमै छ । यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीले भेटका लागि प्रयास गर्दा प्रधानमन्त्री शाहले समय दिएका थिएनन् ।

हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासिला कूटनीतिज्ञका रूपमा चिनिन्छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उच्चस्तरीय भ्रमणका भेटघाटहरू प्रायः पूर्वनिर्धारित हुने भए पनि गोर र प्रधानमन्त्रीबीचको सम्भावित भेटबारे अहिले केही निश्चित भइसकेको छैन ।

परराष्ट्र स्रोतका अनुसार विशेष दूत गोरले प्रधानमन्त्रीसँग भेटका लागि शुक्रबार वा शनिबारको समय मागेका छन् । तर, प्रधानमन्त्रीको तर्फबाट अहिलेसम्म कुनै निर्णय आएको छैन । २०८२ फागुन २१ को चुनावपछि बनेको शाह सरकारपछि नेपाल आउन लागेका उनी हालसम्मका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ मानिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =