सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने व्यवस्था सुरु गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार पाइलट परियोजनाका रूपमा बुधबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले १५ दिनमै तलब दिने व्यवस्थाको औपचारिक शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयमार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम प्रयोग गरी भुक्तानी प्रक्रिया सुरु गरिएको हो ।

अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब यसै प्रणालीमार्फत प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले १५ दिनमा तलब दिँदा बजारमा माग र उपभोग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । उनले यो व्यवस्था हाल संघीय निजामती कर्मचारीमा लागू गरिएको र क्रमशः अन्य सरकारी कर्मचारीमा विस्तार गरिने बताए ।

सो अवसरमा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्राविधिक रूपमा कार्यालय तयार रहेको उल्लेख गर्दै भविष्यमा प्रदेश तथा अन्य सेवाका कर्मचारीले पनि १५ दिनमै तलब पाउने जानकारी दिए ।

उनका अनुसार अर्धमासिक तलब भुक्तानीले बजारमा नियमित माग सिर्जना गर्ने, उपभोग खर्च सन्तुलित बनाउने र साना व्यवसायीहरूको नगद प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, यसले सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यसअघि वैशाख ४ गते मन्त्री वाग्लेले यस्तो व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =