छिटो काम गर्न अध्यादेश ल्याइयो, सरकारको खराब नियत छैनः बुर्लाकोटी

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले छिटो र प्रभावकारी रूपमा काम गर्न अध्यादेश ल्याएको दाबी गरेका छन् ।

बुधबार रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकले दिएको म्याण्डेटअनुसार राज्यका कामहरू छिटो छरितो रूपमा अघि बढाउन अध्यादेश आवश्यक भएको बताए ।

उनका अनुसार हालको कानुनी प्रक्रियागत जटिलताका कारण सामान्य काम पनि सम्पन्न हुन ३–४ महिना लाग्ने अवस्था रहेको छ । यस्तो ढिलाइ हटाउन अध्यादेशमार्फत ‘फास्ट ट्रयाक’ बाट काम अघि बढाउन खोजिएको उनले स्पष्ट पारे ।

बुर्लाकोटीले अध्यादेश कुनै व्यक्ति, संस्था वा दललाई लाभ पुर्‍याउन नभई रोकिएका कामलाई गति दिन ल्याइएको दाबी गरे । विशेषगरी सहकारी पीडितको रकम फिर्ता प्रक्रिया र संवैधानिक नियुक्ति छिटो टुंग्याउन अध्यादेश आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, “ओपीडीमा जाने बिरामीलाई ओपीडीमै लैजानुपर्छ, इमर्जेन्सीमा जानेलाई इमर्जेन्सीमै । त्यस्तै ढिलाइ नगरी काम गर्न अध्यादेश ल्याइएको हो ।”

उनका अनुसार लामो विधायकी प्रक्रियाले राज्य सञ्चालनमा ढिलाइ हुने भएकाले त्यसलाई रोक्न सरकारले तत्कालीन आवश्यकताका आधारमा कदम चालेको हो । सदन पनि छिट्टै सञ्चालनमा आउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =