काठमाडौं महानगरका विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन गरिएको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले तयार पारेका स्केच र मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन् । शुक्रबारसम्म सञ्चालन हुने प्रदर्शनीमा १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीका सिर्जना राखिएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै हार्तम्छालीले कला क्षेत्रमा पुस्तान्तरणको आवश्यकता औँल्याए । उनले ‘अघिको, अहिलेको र अबको’ पुस्ताबीच सीप हस्तान्तरण हुनुपर्नेमा जोड दिँदै अघिल्लो पुस्ताबाट प्राप्त सीपलाई आगामी पुस्तामा पुर्‍याउनु आवश्यक रहेको बताए। यसका लागि प्रतिष्ठान र महानगरबीच सहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा महानगरको शिक्षा विभाग प्रमुख नवराज ढकालले ‘गरिखाने शिक्षा र महानगरको इच्छा’ अभियानअन्तर्गत १५ हप्ते स्केच तथा मूर्तिकला तालिम सञ्चालन गरिएको जानकारी दिए । तालिममा सिकेको सीप र क्षमतालाई उजागर गर्न प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

उनका अनुसार काठमाडौं महानगरपालिकाभित्र ८३ वटा विद्यालयमध्ये ५९ वटा माध्यमिक विद्यालय छन्, जसको मागअनुसार सीपमूलक तालिम सञ्चालन गरिएको हो । विद्यार्थीले सिकेका सीपलाई भविष्यमा पेशा वा व्यवसायका रूपमा विकास गर्न सक्ने विश्वास पनि उनले व्यक्त गरे ।

आगामी वर्षदेखि प्रदर्शनीसँगै प्रतिस्पर्धात्मक प्रतियोगिता पनि सञ्चालन गर्ने योजना रहेको ढकालले बता ए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =