विष्णु पौडेल भन्छन्– सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍यो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको आरोप लगाएका छन् ।

बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै एमालेको गम्भीर ध्यानाकर्षण भएको बताए ।

पौडेलले सरकारले ट्रेड युनियन अधिकार तथा विद्यार्थीहरूको सङ्गठित हुने अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाए । “ट्रेड युनियन र विद्यार्थीहरूको सङ्गठित अधिकार विश्वव्यापी रूपमा स्वीकृत अभ्यास हो, तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ,” उनले भने ।

उनका अनुसार जनसरोकारका विषयलाई बेवास्ता गर्दै सरकारले जनताका समस्याप्रति चरम लापरवाही देखाएको छ । सरकार सञ्चालनका क्रममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यता दुई प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै उनले ती आधारहरू बिर्सन नहुनेमा जोड दिए ।

पौडेलले संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । “अध्यादेशको सिलसिला सुरु भएको छ, यो लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत होइन,” उनले भने ।

उनले निर्वाचित सरकारले सधैँ संविधानको मार्गदर्शनमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै त्यसबाट विचलित भए देश गलत दिशामा जान सक्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =