निजी क्षेत्रको संयुक्त चेतावनी: ‘धरपकडले लगानी र अर्थतन्त्रमा गम्भीर असर पर्छ’

काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघनेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् ।

विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र नै त्रसित बन्ने अवस्था सिर्जना हुनु गम्भीर भएको उल्लेख गरिएको छ । यस्तो परिस्थितिले अर्थतन्त्र, रोजगारी, राजश्व संकलन तथा पूर्वाधार निर्माणमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ ।

नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गरिनु उचित नभएको उल्लेख गर्दै संगठनहरूले आर्थिक कसुरमा ‘पहिले सुनुवाइ, त्यसपछि प्रमाणका आधारमा कारबाही’ गर्ने विधि अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

उद्यमीहरूले अनुसन्धानमा सहयोग गर्न तयार रहेको र प्रहरीसमक्ष उपस्थित हुने प्रतिबद्धता जनाउँदा जनाउँदै पक्राउ गरिनुले निजी क्षेत्र थप चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ । यसरी धरपकड हुँदा व्यक्तिगत मात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि सरकारले रणनीति पारित गरिसकेको अवस्थामा भइरहेका यस्ता गतिविधिले लगानीकर्तामा थप अन्योल र असुरक्षा बढाएको उनीहरूको भनाइ छ ।

संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको स्मरण गराउँदै निजी क्षेत्रले दोषी प्रमाणित भए कारबाही हुनुपर्नेमा आफूहरूको कुनै असहमति नरहेको पनि स्पष्ट पारेको छ ।

हालैको निर्वाचनपछि बनेको बलियो सरकारबाट अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको उल्लेख गर्दै विज्ञप्तिमा लगानीमैत्री वातावरण कायम गर्न र निजी क्षेत्रको मनोबल नघटाउने कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =