एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको ऐतिहासिक सफलता

काठमाडौँ । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाएका छन् ।
प्रतियोगितामा नेपालबाट सहभागी तीन जना राइडरहरूले आ–आफ्नो विधामा शीर्ष स्थान हासिल गर्दै नेपाली मोटरस्पोर्ट्सको सम्भावनालाई उजागर गरेका हुन् ।
२००ccविधामा अभिनव राज मल्लाले पहिलो स्थान हासिल गरे भने ३१०cc विधामा दिलीप दनुवार विजेता बने । यस्तै, १६०cc विधामा सुजन थापा मगरले दोस्रो स्थान प्राप्त गर्दै पोडियममा स्थान सुरक्षित गरे ।
कठिन ट्र्याक, तीव्र गति र चुनौतीपूर्ण मोडहरूबीच नेपाली राइडरहरूले आत्मविश्वास र उत्कृष्ट नियन्त्रण प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए । उनीहरू ARE GP नेपालमार्फत छनोट भएर अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुगेका थिए ।
यस उपलब्धिले VS Apache Racing Experience (ARE) GP जस्ता प्लेटफर्मले नेपाली युवा राइडरहरूलाई अन्तर्राष्ट्रिय अवसर प्रदान गरिरहेको स्पष्ट पारेको छ ।
यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली राइडरहरूको सफलता देशकै लागि गर्वको विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत भविष्यमा अझ धेरै प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली राइडरहरूको यो सफलता केवल पदक जितमा सीमित नभई देशको मोटरस्पोर्ट्स क्षेत्रको विकास र अन्तर्राष्ट्रिय उपस्थितिको संकेतका रूपमा समेत हेरिएको छ ।








