विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड

काठमाडौँ । सरकारले अत्यधिक गर्मीले निम्त्याउने विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल सुरु गरेको छ ।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आह्वानमा सो कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायहरूसँग छलफल गरिएको हो ।

छलफलमा सो विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँगको सहकार्यमा जोड दिने नीतिलाई अवलम्बन गरेर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको सो प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनले स्थानीय तहले त्यस्ता खालको विपद् व्यवस्थापनका लागि विद्यालय तहमा पठनपाठनको व्यवस्था गराउनुपर्नेमा पनि जोड दिइएको बताए ।

कार्यकारी प्रमुख भट्टले भने ‘गर्मी बढी भएमा विद्यालयहरू नै बन्द गर्नुपर्यो, अन्य अवस्थामा पनि विपद् नहुने गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न पाउने अधिकारको उपयोग हुने गरी कार्ययोजना तय गरिनुपर्दछ । स्काउटका साथीहरु पनि जोडिनुभएको छ । पहिला उहाँहरूको सहभागिता कम थियो । अब धेरै हुनेवाला छ । स्काउट सँगै विपद् व्यवस्थापनमा करिब २ लाख भोलियन्टियर्स पनि थपिएका छन् । त्यसले पनि विपद् व्यवस्थापनमा तत्काल काम गर्न सहज हुन्छ ।’

कार्ययोजनामा विपद् व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने कुरामा जोड दिनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =