मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्थायी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए ।

उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ । उनकाअनुसार सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् ।

उनले प्रहरी हेडक्वाटरदेखि विओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिए । उनकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उनले जानकारी दिए ।

हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बीओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उनको भनाई छ । उनले सशस्त्र प्रहरीले गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा जनशक्ति उत्पादन गरिरहेको पनि जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत गतवर्ष ९९० जनाले तालिम लिएको र यस वर्ष हालसम्म २ सय २९ जनाले तालिम पूरा गरेको बताए । हाल १ सय ३५ जना तालिमरत रहेका छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको पनि उनले जानकारी दिए । उनले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताए ।

देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभूत सामग्री अझै अपुग रहेको उनको भनाई छ । विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सामग्री संकलनको प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले भने ‘सशस्त्र प्रहरी बलको तालिम केन्द्र कुरिनटार, उच्च पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, विशेष कार्य शिक्षालय सप्तरी र विपद् उद्धार गण गरेर चार वटा स्थायी अपरेशनल युनिट स्थापना भएको छ । विभिन्न खालका विपदजन्य तालिम गोताखोरसहितका ४ हजार ५१३ जनाले लिएका छन्, उनीहरूलाई विभिन्न युनिटहरूमा परिचालन गरिएको छ । हेडक्वाटरदेखि विओपीसम्म अहिले हामीले विपद् डेडिकेटट टिम गठन गरेका छौँ । त्यसमा ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएर काम गरिरहेका छन् । ९ वटा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ, हालै ६ वटा वेश सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लामा गरी थप ६ वटा स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ । विशेष गरेर मौसमजन्य विपद्को लागी विपद् अस्थायी वेश ६० वटा स्थापना गरेर काम गर्ने चरणमा छौँ । गत सालबाट सशस्त्र प्रहरी बलले नयाँ अवधारण ल्याएर विपद् स्वयंसेवक तालिम भनेर विभिन्न वडामा जनशक्ति उत्पादन गर्नेगरि तालिम सञ्चालन गरेका छौँ । गत साल ९९० जनाले तालिम प्राप्त गरेका थिए । अहिले २२९ जनाले तालिम प्राप्त गरेका छन् र १३५ जना अरू थप तालिमरत हुनुहुन्छ । यस्तै गत सालबाट हरेक वडामा हामीले २५ जनाको दरले विपद् सूचक विकास गराउनेगरि काम गरिरहेका छौँ । काम गर्दैजादाँ कतिपय ठाउँहरूमा विपद् सामाग्री अभावले भनेजस्तो काम गर्न सकेका छैनौ । तथापि हामीले विभिन्न समयमा विभिन्न निकायसँग समन्वय गरेर उद्धारको लागी आवश्यक सामग्रीहरू सङ्कलन गरिरहेका छौँ । हाम्रो ५ सय ४७ वटा युनिटहरू छन्, तत युनिटहरूमा आधारभूत सामाग्रीहरू अझै पनि पुर्याउन सकेका छैनौ । विपद् प्राधिकरण र मन्त्रालयसँग आवश्यक सामाग्रीको माग गरेका छौँ । प्रदेश तथा स्थानिय तहसँग समन्वय गरेर समेत सामाग्री जुटाउने काम भइरहेको छ ।’

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायामको सुरुवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =