स्थानीय उत्पादन र चक्रीय आपूर्ति प्रणाली सुदृढ गर्न खाद्यका लागि कृषि अभियानको माग

काठमाडौँ । खाद्यका लागि कृषि अभियानले कृषि प्रणालीलाई रासायनिक निर्भरताबाट हटाई पूर्ण रूपमा पर्यावरणमैत्री मोडेलमा रूपान्तरण गर्न सरकारसँग माग गरेको छ ।

अभियानले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक उद्धव अधिकारीले ‘कृषि क्षेत्रको राष्ट्रिय प्रतिबद्धता गर्नुपर्ने सुझाव’ पत्र सरकारलाई बुझाइसकेको पनि जानकारी दिए । उनले रासायनिक मल र विषादीमा आधारित खेती प्रणालीलाई चरणबद्ध रूपमा विस्थापित गर्दै जैविक तथा पर्यावरणीय कृषि प्रणालीमा रूपान्तरण गर्न स्पष्ट संक्रमणकालीन कार्ययोजना लागू गर्नुपर्ने माग गरे ।

त्यस्तै कोभिड–१९ महामारी र भूराजनीतिक द्वन्द्वले आपूर्ति प्रणालीमा पारेको असरबाट पाठ सिक्दै स्थानीय उत्पादन र चक्रीय आपूर्ति प्रणाली सुदृढ बनाउनुपर्नेमा समेत उनको जोड छ । उनले कृषि क्षेत्रको विद्यमान संरचनालाई अप्रभावकारी भन्दै संघ, प्रदेश र स्थानीय तहमा समन्वय हुने गरी शक्तिशाली र उत्तरदायी संयन्त्र निर्माण गर्न सुझाव समेत दिए ।

उनले किसानको सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै वास्तविक किसानको वर्गीकरण गरी किसान पेन्सन, किसान क्रेडिट कार्ड, बीमा तथा सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

बीउ सम्प्रभुता सुनिश्चित गर्न देशव्यापी जैविक नक्शांकन गर्नुपर्ने, रैथाने बीउ संरक्षण गर्न प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न समेत अधिकारीले सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =