तनहुँका सेवाग्राहीको घरमै राहदानी

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी पुर्याउने सेवा विस्तार गरेको छ ।
सरकारी सेवालाई सहज, पहुँचयोग्य र छरितो बनाउने उद्देश्यले सुरु गरिएको यो सेवा पहिलो चरणमा राहदानी वितरणबाट लागू गरिएको हो भने आगामी दिनमा सवारीचालक अनुमतिपत्रसमेत यही प्रणालीमार्फत घरमै पुर्याउने तयारी भइरहेको छ ।
जिल्ला हुलाक कार्यालयका प्रमुख शिरिष उपाध्यायका अनुसार नेपाल सरकारको ‘एक सय शासकीय सुधार’ अन्तर्गत २७ नम्बर बुँदामा हुलाक सेवालाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति तय गरेसँगै उक्त कार्यक्रम जिल्लामा कार्यान्वयन गरिएको हो । ‘सरकारको घोषणालाई व्यवहारमा उतार्दै हामीले राहदानी सेवाग्राहीकै घरमा पु–याउने व्यवस्था सुरु गरेका छौँ’, उनले भने ।
उनका अनुसार सेवा प्रभावकारी बनाउन जिल्लाभर हल्कारहरूको कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । परम्परागत रूपमा चिठीपत्र वितरण गर्दै आएका हल्काराहरूलाई तालिम तथा निर्देशन दिई सरकारी कागजपत्र सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । यसले सेवा वितरणमा विश्वसनीयता कायम गर्ने विश्वास गरिएको उनको भनाइ छ ।
राहदानी सेवाका लागि आवेदन दिने क्रममा नै सेवाग्राहीलाई थप विवरणसहितको अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त फारममा सेवाग्राहीको पूर्ण ठेगाना, घर पहिचानका आधार (जस्तै नजिकका चिनारी स्थल), सम्पर्क नम्बर तथा वैकल्पिक सम्पर्क विवरण सङ्कलन गरिन्छ । यसले वितरणका क्रममा देखिने सम्भावित समस्या न्यूनीकरण गर्ने उपाध्यायले बताए ।
कार्यालयका अनुसार घरमै सेवा पुर्याउँदा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्ने, लाइन बस्ने समस्या कम हुने र समय तथा खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ । विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकका लागि यो सेवा प्रभावकारी हुने बताइएको छ ।








