होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको निर्णयको राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इरानद्वारा होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला गरिएको घोषणाको स्वागत गरेका छन् । इजरायल र लेबनानबीच भएको युद्धविराम अवधिभरका लागि इरानले यो निर्णय गरेको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्ति जारी गर्दै महासचिवले यस कदमलाई सही दिशामा चालिएको सकारात्मक कदमको रूपमा लिएको बताएका छन् ।

राष्ट्रसंघको अडान स्पष्ट रहेको उल्लेख गर्दै उनले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रतालाई सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिए । महासचिवले वर्तमान द्वन्द्व समाधानका लागि भइरहेका कुटनीतिक प्रयासहरूको पूर्ण समर्थन गरेका छन् ।

यो कदमले युद्धविरामसँगै पक्षहरूबीच विश्वासको वातावरण सिर्जना गर्ने र पाकिस्तानद्वारा सहजीकरण भइरहेको संवादलाई थप मजबुत बनाउने अपेक्षा उहाँले व्यक्त गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र लेबनान १० दिने युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए ।

सोही घोषणाको भोलिपल्ट इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =