हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

बागमती । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ ।

सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै आएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो । सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ ।

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए । “हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भने विषयमा प्रधानमन्त्री र उद्योग मन्त्रीसँग पनि कुरा गरेको छु”, सांसद गौतमले भने, “यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ । उद्योगका कर्मचारीहरूसँग पनि यस विषयमा अन्तर्क्रिया गरेको छु, सबैबाट राम्रै सुझाव आएको छ ।”

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिन मात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा शिवनारायण साह बताए । गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएको छ ।

अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख डा साहको भनाइ छ ।

“अहिले मौज्दात रहेको कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन हुँदैछ, क्लिङ्करबाट सिमेन्ट उत्पादन गरेर प्याकिङ हुन्छ”, निमित्त महाप्रबन्धक साहले भने, “अबको एकदुई दिनमा उत्पादन ठप्प हुन्छ, तर नियमित खर्च जस्ताको त्यस्तै छ । उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीहरूको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेकै छ ।”

आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न नसकिएको छैन साहको भनाइ छ । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =