‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

काठमाडौँ । ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?’ विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिए ।

लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उनले बताए । त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोहअवरोह आउने ग्रहयोग छ ।

‘युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ,’ गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरूबीचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उनले सचेत तुल्याए । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उनले बताए ।

महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग रहेको उनको भनाइ थियो । नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो । उनले भने ‘बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।’

विश्व शेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उहाँले गर्नुभयो । यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याए । ‘बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ,’ उनले भने ‘नेपालको सन्दर्भमा केन्द्रित रहेर भन्नुपर्दा आगामी मङ्सिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भए पनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको उनले बताए ।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले २०८३ सालमा पनि दारुण काल नै चलिरहने भएकाले सतर्क रहनुपर्ने बताए । उनले भने ‘यो वर्ष दुई दुई वटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन । विश्वमा युद्धका सम्भावनाहरू पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।’

उनले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहहरूले सङ्केत गरेको बताए । नववर्ष २०८३ मा धार्मिक भावनाहरू झनै ह्रास हुने टिप्पणी उनले पनि गरे ।

राष्ट्रिय महिला ज्योतिष सङ्घका सचिव सुधा भट्टराईले मङ्गल सेनापति भएकाले अशान्ति, झगडा, विवादको सम्भावना पनि त्यत्तिकै रहेको बताए । सँगै यसले परिवर्तनको सङ्केत पनि गरेको उनले बताए । मेसिनरी क्षेत्रहरू मङ्गलले ह्यान्डल गर्ने भएकाले औद्योगिक क्षेत्रमा केही विकास हुनसक्छ । मङ्गलकै कारण आगामी वर्ष भौतिक उन्नति सँगसँगै उद्योगधन्दाहरूको विकास हुन्छ भने शनि मीन राशिमा भएकाले राम्रा चिजहरूमा देशले कोल्टो फेर्ने बताए । ‘असारपछि बृहस्पति उच्च स्थानमा जाने भएकाले त्यसपछि मात्रै सुधार हुन्छ,’ भट्टराईले भने ।

ज्योतिषविद् एवम् वास्तुशास्त्री शिवप्रसाद पोखरेलले विश्व परिवेशलाई नियाल्दा आगामी वर्ष विशेष सतर्कता अपनाउनुपर्ने समय भएको भविष्यवाणी गरे । ‘संवत्सर पनि अन्तिम तिरको परेकाले अधम फलदायकको अवस्थामा हामी छौँ । राजनीतिक दृष्टिले पनि विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकहरूबीच मनमुटाव आउनसक्छ । यसले नागरिकहरूबीच असन्तुष्टि पैदा गर्न सक्छ ।’

कृषि उत्पादनमा आर्थिक भार उत्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि प्राकृतिक र मानव सिर्जित विपत्तिहरू आउनेतर्फ सचेत गराए ।

ग्रहहरूको उदय र अस्तले पनि ठूलो प्रभाव पार्ने भन्दै पोखरेलले २०८२ वैशाखदेखि आगामी जेठ १८ गतेसम्म बृहस्पति र शनि, मिथुन र मीनमा परस्पर केन्द्रमा रहने र चैत १९ देखि वैशाख २८ गतेसम्म शनि र मङ्गल एउटै राशि मीनमा भ्रमण गरिरहने हुँदा अनेकन सङ्घर्षका घटना हुनेतर्फ सचेत गराए । वास्तुशास्त्रीसमेत रहेका पोखरेलले सिंहदरबार, नारायणहिटी दरबार, दशरथ रङ्गशालालगायत स्थलका संरचनाको वास्तु नमिलेकाले देशमा समस्या आउने गरेको जानकारी कार्यक्रममा गराए ।

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा सांस्कृतिक पत्रकारहरूको छाता सङ्गठनका रूपमा रहेको संस्थाले आगामी वर्षमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूका साथै क्षमता विकासका अन्य क्रियाकलापहरूलाई समेत अघि बढाउँदै लैजाने जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =