सरकार आफ्नो सुविधा बढाउने र सांसदहरूको सुविधा कटौती गर्ने काममा लाग्यो: नेकपा सांसद साह

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी साह गरिमाले संसदप्रति अनुदार भएको भन्दै सरकारको आलोचना गरेकी छन् ।
सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो आरोप लगाएकी हुन् ।
सांसद साहले सरकारले आफ्नो सुविधा बढाउने तर सांसदहरूको सुविधा कटौती गरेको जिकिर समेत गरिन् । संसदलाई प्रभावकारी बनाउनुपर्नेमा वर्तमान सरकारले त्यसलाई कमजोर बनाउने कामलाई निरन्तर अघि बढाइरहेको सांसद साहको भनाई थियो । उनले संसदलाई प्रभावकारी बनाउन लागि तत्काल विज्ञहरूको समूह रहेको संरचना आवश्यक रहेको पनि बताइन् ।
उनले भनिन् ‘बाहिर सांसदहरूले लुटेका छन्, खाएका छन् । धेरै कमाई गरिसके, घर बनाईसके भन्ने जुन गलत खालको म्यासेज छ । यो म्यासेज पनि हामीले तोड्नुपर्छ जस्तो लाग्छ । हामीले यो समितिमार्फत पटक पटक के भनेका थियौँ भने साँच्चै संसदलाई प्रभावकारी बनाउने हो भने हामीलाई विज्ञहरूको एउटा रोष्टर हुनुपर्छ । चाहिएको बेलामा उपलब्ध हुनेगरी संसद् भित्र विज्ञहरूको संरचना हुनुपर्छ । त्यसका लागि जनशक्ति थप गर्नुपर्छ भनेर माग गरिरहेका बेलामा सरकारबाट भएको सुविधाहरू पनि कटौती गर्ने जुन काम भयो । आफ्ना सुविधाहरू बढाउने तर सांसदहरूको सुविधा भइरहेको छ सरकारबाट । संसदप्रति सरकार जहिले पनि अनुदार रहेको स्थिति छ । यसबारेमा पनि हामीले खबरदारी गर्नुपर्ने आवश्यकता छ ।’
सांसद साहले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि जोड दिइन् ।








