‘शिक्षित र आधुनिक समाजमा मानव बेचविखनको समस्या बढ्दै जानु चिन्ताजनक’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालमा मानव बेचविखन तथा ओसारपसारको समस्या बढ्दै गएकोको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

मानव बेचविखन विरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२ सार्वजानिक कार्यक्रममा उनले शिक्षित र आधुनिक समाजमा समेत यस्तो अपराध कायम रहनु अत्यन्तै चिन्ताजनक विषय भएको बताएकी हुन् ।

वर्षेनी नयाँ नयाँ आयामबाट मानव बेचविखन तथा ओसारपसारको घटनामा वृद्धि भइरहेको उनले उल्लेख गरिन् । मानव बेचविखन मानव अधिकारको गम्भीर उल्लङ्घन र अक्ष्म्य अपराध भएपनि यसलाई रोक्न नसकिएको उनको भनाई छ ।

उनकाअनुसार नेपालमा परम्परागत स्वरूपका साथै नयाँ प्रविधिको प्रयोगमार्फत मानव बेचविखनका नयाँ आयाम थपिँदै गएका छन् । आर्थिक अभाव र रोजगारीको खोजी यसका प्रमुख कारणका रूपमा देखिएको उनले बताइन् ।

उनले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको लागी नेपाल मानव अधिकार आयोगले सार्वजानिक गरेको प्रतिवेदन कार्यन्वनयनमा ल्याउन मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरिन् । उनकाअनुसार प्रतिवेदनमा पुनस्र्थापना, रोकथाम, सीमा सुरक्षा, अपराधीकरण, सजाय तथा क्षतिपूर्ति सम्बन्धी ६३ वटा सुझाव समावेश गरिएको छ । तीमध्ये १५ वटा सुझाव कार्यान्वयनको प्रत्यक्ष जिम्मेवारी मन्त्रालयलाई दिइएको उनको भनाई छ ।

सचिव अर्यालले ती सिफारिसहरू कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । उनले सरकारले ‘मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२’ कार्यान्वयनमा ल्याइसकेको जानकारी पनि दिइन् ।

सो नीतिमा पाँच प्राथमिक क्षेत्र तय गरी नीति, रणनीति र कार्यनीति अघि बढाइएको उनको भनाई छ । उनले सरकारी तथा निजी क्षेत्रलाई सोही नीतिको आधारमा कार्यक्रम निर्माण गर्न आग्रह गरिन् ।

सचिव अर्यालले मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ संशोधनको मस्यौदा तयार गरी सार्वजनिक गरिएको जानकारी दिँदै त्यसमा सुझाव दिन सरोकारवालासँग आग्रह गरिन् ।

उनले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि अन्तर्गत प्राप्त सुझाव कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरिसकेको र यसले मानव तथा बालिका बेचविखन नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =