शिक्षामन्त्री सस्मित पोखरेलको ७ ठाउँमा २० करोडभन्दा बढीको घरजग्गा, २५ तोला सुन र डलर खाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा रहेका प्रवक्ता सस्मित पोखरेलले आफ्नो तथा परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनका अनुसार बुवा, आमा, मावली हजुरआमा र दिदीबहिनीसहित संयुक्त नाममा काठमाडौं, मोरङ र ललितपुरमा रहेका सात स्थानमा करिब २० करोड रुपैयाँ बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, उनले २५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन् ।
बैंक खातातर्फ उनको नाममा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको तथा डलर खातामा ५ अमेरिकी डलर रहेको जनाइएको छ ।
सम्पत्ति विवरणअनुसार पारिवारिक सदस्यसहित संयुक्त लगानीमा शेयर कारोबार पनि गरिएको छ । बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समार्फत विभिन्न कम्पनीमा करिब ३० लाख रुपैयाँ बराबरको शेयर लगानी गरेको उल्लेख छ ।
त्यस्तै, बुवाको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ तथा आमाको नाममा ५० लाख रुपैयाँ बराबरको बचतपत्र तथा लगानी रहेको विवरणमा जनाइएको छ ।
आमा मिनाक्षी ओझा पोखरेलको नाममा माछापुच्छ्रे बैंकमार्फत ५० लाख रुपैयाँ ऋण रहेको र मन्त्री स्वयंको नाममा हिमालयन बैंकमार्फत २५ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ ।
उनको कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ र कुल ऋण ७५ लाख रुपैयाँ रहेको तथा खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको विवरणमा जनाइएको छ ।








