जेनजी आन्दोलनकी घाइतेलाई एमबीबीएसमा भर्ना गराउने सरकारी निर्णयमा गोविन्द केसी आक्रोशित

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले उक्त निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । सरकारले जेनजी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय गरेको थियो, जसलाई चैत १ गते चिकित्सा शिक्षा आयोगको बैठकले अनुमोदन गरेको थियो ।

सरकारको उक्त निर्णयले मेरिटका आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना हुँदै आएको छ ।

यसअघि शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो । सोही अभिव्यक्तिपछि डा. केसीले कडा प्रतिक्रिया जनाउँदै सरकारले कानुन पढेको हो कि बेवास्ता गर्न खोजेको हो ? भन्ने प्रश्न उठाएका छन् ।

डा. केसीले उक्त निर्णय र मन्त्रालयको अभिव्यक्ति दुवै फिर्ता लिन आग्रह गरेका छन् । साथै शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न पनि पुनः माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =