वैदेशिक रोजगारीमा जाने नेपालीहरूले थप बिल र रसिद देखाउनु पर्दैन : अध्यागमन विभाग

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ ।

अध्यागमन विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको हाे ।

पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले बिल र रसिदसमेत बोक्नुपर्ने हल्ला फैलिएपछि विमानस्थलमा भिडभाड र अन्यौलता बढेको थियो । विभागले प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णय अनुसार श्रमिकहरूलाई प्रस्थान अनुमति दिँदा अतिरिक्त झन्झट नदिइने स्पष्ट पारेको छ।

यस्तै, भिजिट भिसामा विदेश जाने नागरिकहरूको हकमा पनि प्रक्रियालाई सरलीकृत गरिएको छ । अब भिजिट भिसामा जानेहरूले कम्तीमा ६ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सजिलै यात्रा गर्न सक्नेछन् । यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न अनावश्यक कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको निर्णयले हटाएको थियो ।

अध्यागमन विभागले कुनै पनि किसिमको भ्रममा नपर्न र आफ्नो गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भएर निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =