जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन: नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ ।
केन्द्रीय कार्य समायोजन समितिको बैठक सातौँ दिनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।
युवा र विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उनले बताए । यसको विरुद्धमा पार्टी सडकमा उत्रिने चेतावनी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिए । विभिन्न कार्यव्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको यो बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका लगभग ४३ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा देशको समसामयिक परिस्थिति, नयाँ सरकारले लिने बाटो र पार्टीको सांगठनिक समायोजनका विषयमा गहन मन्थन भएको छ ।
उनले भने ‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनहरूलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो। यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौँ ।’
नेता खतिवडाकाअनुसार बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको छ । नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ ।








