‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

काठमाडौँ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरेको भन्दै नेपाली काँग्रेसका नेताहरूको आलोचना गरिएको छ ।

काँग्रेसद्वारा गठित सो आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रवार काठमाडौँमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै काँग्रेसका शुभेच्छुक संस्था डमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) अध्यक्ष सीताराम केसी, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठलगायतले सो प्रतिवेदन अस्वीकार गर्दै अघि बढ्न काँग्रेस नेतृत्वलाई सुझाव दिएका हुन् ।

डिएलएका अध्यक्ष केसीले दिइएको म्यान्डेट अनुसार सो प्रतिवेदन आयोगले नल्याएकाले त्यसलाई काँग्रेसले ठाडै अस्वीकार गर्नुपर्ने बताए ।

उनले भने ‘यो जाँचबुझ आयोग ऐन २०२६ ले गठन भएको ऐन यतिखेर २०२६ सालको ऐन, जसले हरेक घटना हुँदाखेरि सरकारका नजिकमा मान्छेहरू राखेर आयोग गठन गरिदिने र त्यही अनुसार प्रतिवेदन आउने हिजाको परम्परा पनि थियो । यो परम्परा यसपालि पनि दोहोरिएको हो भन्न हामीले अप्ठ्यारो मान्नुपर्छ जस्तो लाग्दैन भन्ने मलाई लाग्दछ । खासगरी आयोगको काम भनेको २३ र २४ गते काठमाडौँ लगायत मुलुकका विभिन्न प्रदर्शनको क्रममा भएका भौतिक तथा मानवीय क्षतिको एकीन गरी घटनाको एकीन गरी सोको रायसुझावसहितको प्रतिवेदन पेस गर्ने, भौतिक तथा मानवीय क्षतिसँग सूचना संकलन गरी विश्लेषण गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि उपाय सुझाव पेस गर्ने । र फेरि व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा संगठित तरिकाले गरेको हिंसाको भेदभाव, पूर्वाग्रहरहित ढंगले छानबिन गरी प्रतिवेदन पेस गर्ने । नेपाली काँग्रेसले टिओआर अनुसार नआएको प्रतिवेदन मान्नु हुँदैन जस्तो मलाई लाग्दछ । नमाने हुन्छ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले नेताहरूले सो प्रतिवेदन मान्दैनौ भन्ने आँट नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सोही प्रतिवेदनको आधारमा कुनै दाग नलागेका नेताहरूलाई सरकारले फसाउने षडयन्त्र गरिरहेको भन्दै काँग्रेस नेताहरूलाई सचेत हुन पनि आग्रह गरे ।

चिकित्सक श्रेष्ठले भने ‘यो आयोग गलत मनसायका साथ ल्याएको प्रतिवेदन हामी मान्दैनौ भनेर पनि हाम्रा नेताहरूले भन्न नसक्ने । त्यसकारण अहिले हामी सबैले के भन्नुपर्छ भने पार्टीले प्रजातन्त्रको रक्षाका लागि, विधिको शासनको लागि जे गर्न पनि तयार छौ । हिजो पनि लडेको नै हो । त्यसकारण अहिले यसलाई कुनै पनि हालतमा मान्नु हुँदैन । हिजो गिरिजा बाबुले जनमत अन्त हुँदा पनि संसद पुनर्स्थापना हुनुपर्छ भन्दा आखिर भयो नि । पार्टीका लिडरहरू दह्रो हुने बेला आएको छ । यस्तै हो भने होली कुनै गल्ती नगरेका नेताहरूलाई फसाउने काम हुन्छ । यो प्रतिवेदन सरकारले सार्वजनिक पनि गरेको छैन । यसलाई मानेर जान हुँदैन । यो आयोगको सुरुवात नै गलत मनसायको छ । यसको परिणाम सही होइन, मान्न सकिँदैन । यो आयोगको प्रतिवेदन मान्य छैन भनेर जानु पर्दछ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले काँग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =