भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गरेका छन् ।
संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उहाँले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकांक्षा राखेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताए । भ्रष्टाचारको अन्त्य, विधिको शासन, र दण्डहीनताको अन्त्यका लागि संसदले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गरे । राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गरे ।
उनले भने ‘नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । विदेश पलायन भइरहेको युवा वर्गलाई आफ्नै देश र गाउँमा बसौँ बसौँ बनाउनु आजको मुख्य आवश्यकता हो । यसका लागि शैक्षिक प्रणालीमा सुधार र बजारको माग अनुरूपको जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिनेछ । सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्दछ ।’
आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको औँल्याउँदै राष्ट्रपतिले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताए । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिबद्ध रहने उनको विश्वास छ ।








