नवलपरासी पूर्वमा एक लाख बिरुवा तयार गरिँदै

मध्यविन्दु । डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले एक लाख बिरुवा तयार गर्दै छ । डिभिजन वन कार्यालय कावासोतीमा ८० हजार र गैँडाकोट सवडिभिजन कार्यालयमा २० हजार गरी दुई वटा नर्सरीमा विभिन्न प्रजातिका बिरुवा तयार गरिने भएको हो ।

आगामी असारभित्र वृक्षरोपणका लागि तयार हुने गरी एक लाख बिरुवा उत्पादन गरिएको डिभिजन बन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी सुवास अधिकारीले बताए । “नर्सरीमा बाँस, तेजपात, हर्राे, बर्राे, धुपी, कपुर, म्याडगोस्टिक, अशोक, सितलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बू, बकाइनो, पिपल, अमला, लप्सी, चिउरी, भटमास घाँसलगायत बिरुवा रहेका छन्”, उनले भने ।

हुर्काएका बिरुवा आगामी असारदेखि वृक्षरोपणका निमित्त निःशुल्क वितरण गरिने भएको छ । गत वर्ष वन कार्यालयमार्फत एक लाख १० हजार बिरुवा वृक्षरोपणका निमित्त निःशुल्क वितरण गरिएको वन अधिकृत अधिकारीले जानकारी दिए ।

“गत वर्ष एक लाख १० हजार बिरुवा दुई नर्सरीमा तयार गरिएको थियो”, उनले भने “बहुवर्षिय र पहिल्यै तयार गरिएको बिरुवा गरेर एक लाख १० हजार बिरुवा वृक्षरोपणका लागि वितरण गरेका थियौँ ।”

नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त प्रत्येक वर्ष निःशुल्क वितरण गर्ने गरिएको छ । विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुर जस्ता बिरुवा लैजाने गरेको डिभिजन वन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।

“बुटवल–नारायणगढ सडक अयोजनासँगको सहकार्यमा वृक्षरोपण गरिने छ”, उनले भने “जसमा बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डाले घाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा तयार गरिएका छन् ।”

वन कार्यालयको नर्सरीबाट प्रत्येक वर्ष बिरुवा उपलब्ध गराउन थालिएसँगै जिल्लामा पछिल्लो वर्षहरूमा वृक्षरोपण कार्यमा वृद्धि भएको छ । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको प्रमुख अधिकारीले बताए ।

“कार्यालयले बिरुवा वितरण गरेसँगै यहाँका विद्यालय, क्लब, टोल सुधार संस्था, धार्मिक मठमन्दिरले वृक्षरोपणमा चासो देखाउने गरेका छन्”, उनले भने “नर्सरीमा बिरुवा उत्पादन गर्न थालेपछि अन्य जिल्लाबाट यहाँ बिरुवा लिन आउने गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =