एक वर्षमै एसियन ब्रिजको फड्को : दीक्षान्त समारोहमा विद्यार्थीहरूले देखाए उत्कृष्ट प्रतिभा

टोकियो । जापानको राजधानी टोकियोस्थित किता–कुमा सञ्चालित ‘एसियन ब्रिज इन्टरनेसनल स्कुल’ ले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा प्रथम वार्षिक उत्सव तथा यूकेजी (UKG) दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
ओजीस्थित हाकुटोपिया भवनमा आयोजित उक्त विशेष समारोह विद्यालयका अध्यक्ष डा. बालाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जापानका लागि नेपाली राजदूत महामहिम हरिहर कान्त पौडेलको उपस्थिति रहेको थियो ।
औपचारिक सत्रको सुरुवात गर्दै विद्यालयका उप–प्रधानाध्यापक नारायण कट्टेलले स्वागत मन्तव्य राखेका थिए । उनले विद्यालयले एक वर्षको छोटो अवधिमा हासिल गरेका उपलब्धि, भावी शैक्षिक कार्ययोजना तथा नेपाल र जापानबीचको शैक्षिक सम्बन्ध सुदृढ बनाउन विद्यालयले खेलिरहेको भूमिकाबारे प्रकाश पारे ।
समारोहको मुख्य आकर्षणका रूपमा जापानका निवर्तमान न्यायमन्त्री हिरासी हिरागुचीको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । गत वर्ष विद्यालयको समुद्घाटनमा समेत सहभागी भएका मन्त्री हिरागुचीले विद्यालयको एक वर्षे सफल यात्राका लागि बधाई ज्ञापन गर्दै आगामी सफलताको कामना गरे ।
त्यसैगरी, यामानाशी प्रिफेक्चरको होकुटो सिटीका मेयर कुनिहिको ओशिबाले पठाएको सद्भाव सन्देश पनि कार्यक्रममा वाचन गरिएको थियो । कार्यक्रममा ४० भन्दा बढी जापानी प्रतिष्ठित व्यक्तित्वहरूको सक्रिय सहभागिताले विशेष महत्व थपेको थियो ।

टोकियो महानगर सभा सदस्यहरू सुश्री कामाजाकी मिकी र सुश्री काई मारिको, अकाफुजिदाइको जापानीकी अध्यक्ष डा. हिरोमी इसिओका, एनपिओ चेरी ब्लसम एसोसिएसनका अध्यक्ष हिरोबुमी मात्सुजावा, ग्लोबल काराभानकी अध्यक्ष सोमेया नोरिको, सोवा होकेन सेन्टरकी अध्यक्ष ओनो काजुए तथा एत्सुओ हिरासावा श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली समुदायका तर्फबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, एभरेस्ट इन्टरनेसनल स्कुलका अध्यक्ष किरण थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रबिन्द्र श्रेष्ठ, पर्वत समाजका अध्यक्ष राम बास्तोला लगायतका विशिष्ट व्यक्तित्वहरूले विद्यालयको प्रगतिको प्रशंसा गर्दै शुभकामना दिए ।

दीक्षान्त समारोहअन्तर्गत यूकेजीका स-साना विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक यात्राको पहिलो खुड्किलो पार गरेको उपलक्ष्यमा प्रमाणपत्र वितरण गरिएको थियो । साथै, उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने, अनुशासित, नेतृत्वदायी क्षमता प्रदर्शन गर्ने तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कृत गरियो ।
विद्यालयको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अभिभावकहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । करिब २५० जनाभन्दा बढी अभिभावक, विद्यार्थी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपाली र जापानी संस्कृति झल्कने विविध सांगीतिक प्रस्तुति, नृत्य र फेसन शो प्रस्तुत गरेका थिए ।

विदेशमा रहेका नेपाली बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कार र पहिचानसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ स्कुल अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ । आगामी दिनमा अझ परिष्कृत ढंगले शैक्षिक र सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत विद्यालयले व्यक्त गरेको छ ।









