देवभूमिमा नयाँ प्रधानमन्त्री: बालेनको उदयसँगै स्वर्णयुगको शंखनाद !

नेपाल धार्मिक र सांस्कृतिक रूपमा समृद्ध देश “देवभूमि” को देश यहाँ हजारौँ मठ–मन्दिरहरूले हिन्दू धर्मको आस्था झल्काउँछन् भने गुम्बा र चैत्यहरूले बौद्ध धर्मको शान्ति र करुणाको सन्देश दिन्छन् । मुस्लिम, इशाई, बौद्ध अनि हिन्दु एक आपसमा मिलिजुली सदियौ देखि रहनुले  धर्मबीचको सहअस्तित्व र सम्मान नेपालको विशेषता रहेको प्रष्ट हुन्छ । हाम्रा मठ, मन्दिर, गुम्बा र चैत्यहरूले नेपाललाई साँचो अर्थमा देवभूमि बनाएका छन् । यही पवित्र देव भूमिमा एक कृष्णरूपी नव नेतृत्वका रूपमा  नव प्रधानमन्त्रीको अवतार लिएर उदाएका छन् “बालेन्द्र शाह” ।

आज नव प्रधानमन्त्री बालेन्द्र शाहले इतिहासमै सुनौलो युगको सुरु गरेको आभास भएको छ । १०८ बटुकहरू र १०८ भिक्षुहरूको गुञ्जायमान मन्त्र उच्चारण तथा विशाल शंखनादले देशभर नयाँ ऊर्जा, आशाका किरण, राष्ट्रिय एकता, आपसी सहिष्णुता र उन्नतिको सन्देश फैलाएको छ । आजको नव पुस्ताले अपनाएको सांस्कृतिक र आध्यात्मिक शपथ ग्रहणले नेपाललाई परम्परा र आधुनिकताको सुन्दर समन्वय गर्ने राष्ट्रको रूपमा विश्वसामु प्रस्तुत गरेको छ। तपाईंलाई लाग्न सक्छ–यो त केवल शपथ मात्र हो । तर होइन, यो एक भिन्न सुरुवात हो, चलनभन्दा फरक सोच्ने र गरेर देखाउने क्षमताको प्रतीक हो । सफल हुनेहरू फरक काम गर्दैनन्, तर काम गर्ने तरिका फरक राख्छन् ।

सत्ययुगमा जसरी कृष्णको साथ पाएर पाण्डवहरुले बञ्जर भूमिलाई सुनौलो शहर इन्द्रप्रस्थमा रूपान्तरण गरे, जुन राज्य पछि अत्यन्त धनी र शक्तिशाली बन्यो। कृष्णजीले पापीहरूको सर्वनाशका निम्ति सधैं सत्यको साथ दिनुभयो, र महाभारतमा सत्यको विजय गाथा आजसम्म इतिहासमा अंकित छ, जसलाई हामीले पढ्दै आएका छौं ।

कलियुगमा कृष्णको अवतारको रूपमा नेपाली जनताले “बालेन्द्र शाह” लाई हेरेका छन्। अब उनले भ्रष्ट, कुलङ्गार, पापी, हत्यारा र ‘मै खाउँ, मै लाउँ’ भन्ने प्रवृत्तिका व्यक्तिहरूको अन्त्य गर्नुपर्ने अपेक्षा गरिएको छ ।

वर्षौँदेखि लथालिङ्ग अवस्थामा रहेको बञ्जर भूमिलाई इन्द्रप्रस्थजस्तो समृद्ध र व्यवस्थित बनाउनु आवश्यक छ। हरेक क्षेत्रमा जरा गाडेको पुरानो सोच परिवर्तन गर्नु छ । घुस, भनसुन र सोर्स–फोर्सजस्ता प्रवृत्तिलाई जरैदेखि निर्मूल गर्दै अत्याधुनिक प्रणाली स्थापना गरी हरेक अड्डा तथा निकायमा जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने समय आएको छ ।

असत्यका पक्षधर र देशको दुर्गति चाहने, क्रोनिक परम्परावादी सोच भएका व्यक्तिहरूले अनेकौं आरोप लगाए—कसैले दक्षिणको, कसैले उत्तरको त कसैले पश्चिमी प्रभावको बिल्ला भिराए उनलाई। तर “बालेन्द्र शाह” कहिल्यै झुकेनन् बरु ती सबै आरोपलाई मनन गर्दै असत्य र जर्जर परम्परागत सोचलाई चिर्दै अघि बढिरहे ।

अन्ततः जनताले सत्यको साथ दिए, झुट तथा बेतुकमा उफ्रनेहरूलाई पछि पार्दै उनले प्रमाणित गरिदिए कि उनी नेपाल आमाका एक असल, इमानदार र समर्पित छोरा हुन भनेर ।

म भन्छु—सत्ययुगका कृष्ण जस्तै, मेरो देश नेपाललाई रूपान्तरण गर्ने शक्ति लिएर कलियुगमा बालेन प्रधानमन्त्रीको रुपमा उनि उदाएका छन् । उनी सुशासन स्थापना गर्न सक्ने, व्यवस्थित प्रणाली निर्माण गर्न सक्ने, र जर्जर परम्परागत शृंखलालाई तोड्दै राष्ट्रको समग्र विकासको नेतृत्व गर्न सक्ने गुणले सुशोभित व्यक्तित्व हुन् ।

यो भन्दा अघिका नेताहरू बखान गर्थे ‘कर्णालीको पूल मैले बनाएँ, स्कूल–कलेज मैले खोले, पूर्व–पश्चिम कालोपत्रे सडक मैले बनाएँ, जहाज मैले ल्याएँ’ । नाना थरी कार्यहरू देखाएर उनीहरूको उद्देश्य केवल हामीलाई छारो हाल्ने र सत्तामा बस्ने खेल मात्र थियो ।

“आवश्यकता नै आविष्कारको जननी हो”, यो स्वाभाविक प्रक्रिया हो । तर देशमा सुशासन कायम गर्नु, भ्रष्टाचार अन्त्य गर्नु, अन्याय–अत्याचार रोक्नु र नैतिक मूल्यहरूको विकास गर्नु आजको प्रमुख चुनौती बनेको छ । कृष्ण अवतारमा आएका बालेनलाई चुनौतीका थुप्रा छन र सारा नेपालीहरु ढुक्क छन उनीले देशमा परिवर्तन ल्याउनेमा र केहि नयाँ आभास दिनेमा ।

विश्वका कुनै पनि मुलुकले एकैपटक विमान, रकेट, पानीजहाज, मोटरकार वा ठूला महल जादुको छडीले बनाएका होइनन्। सबैले यही माटो, जंगल, नदी–नाला र पहाडबाट सुरुवात गरेका हुन्। तर स्पष्ट दृष्टिकोण, कडा परिश्रम र दीर्घकालीन योजनाका कारण आज ती देशहरू अत्यन्तै अगाडि पुगेका छन्। हामि भन्दा हजार माईल आगाडि पुगी सकेका छन हामीले पनि त्यसबाट प्रेरणा लिएर आफ्नै मार्ग तय गर्न आवश्यक छ ।

अबको पुस्ता कसैलाई ढोगेर, भनसुन गरेर अगाडि बढ्ने सोचमा छैन । उनीहरू कर्ममा विश्वास गर्छन्। त्यसैले बिचौलिया प्रथाको अन्त्य, नेताका मान्छे मात्र अघि बढ्ने प्रवृत्तिको अन्त्य र योग्य व्यक्तिलाई अवसर दिने संस्कृतिको सुरुवात अपरिहार्य छ ।

देशका हरेक क्षेत्रमा–जस्तै यातायात, मालपोत, भन्सार, विश्वविद्यालय लगायत–System ले नै काम गर्ने व्यवस्था हुनुपर्छ । पहुँच होइन, नियम र प्रणाली बलियो हुनुपर्छ। प्रणालीभन्दा बाहिर गएर काम गर्नेलाई कडा सजायको व्यवस्था गर्नुपर्छ, जसले गर्दा भविष्यमा कसैले पनि गलत बाटो अपनाउने हिम्मत नगरोस् ।

नेपालको भविष्यका लागि स्थिर र पारदर्शी शासन व्यवस्था अनिवार्य थियो जुन हामीले पाईसकेका छौ । अबको कदम सरकारले सुशासन कायम गर्नु छ, शिक्षा र रोजगारीलाई प्राथमिकता दिँदै, प्रविधि र डिजिटल विकासलाई अंगिकार गर्दै, पूर्वाधार विस्तार र युवा सहभागिता बढाउँदै नेपाललाई समृद्ध राष्ट्र बनाउने मार्ग तय गर्नु छ ।

अन्ततः, यदि बालेन सरकारले लिएको दुरगामी सोच र सुधारहरू व्यवहारमा उतार्न सकियो भने नेपाल छिट्टै आत्मनिर्भर, समृद्ध र विकसित राष्ट्रको रुपमा आफूलाई स्थापित गर्दै दूरदर्शी नेतृत्वमा नेपालले स्वर्णयुगतर्फ अघि बढ्ने दृढ विश्वास गर्न सकिन्छ। उनि अघि बढ्दै छन जोस र नवीन सोचले भरिएको युवाशक्ति, नारीहरूको सक्रिय सहभागिता, र बहुमतको अभिमत लिएर देश निर्माणको दृढ अठोटका साथ उत्तरसँग सहकार्य गर्दै, दक्षिणसँग आत्मीयता बढाउँदै, पश्चिमसँग मधुर सम्बन्धका साथ नेपालको शिर संसार भरि ठाडो पार्न ।

हाम्रा दाजुभाई, दिदीबहिनीलाई योग्यताका आधारमा हाम्रै देश नेपालमा काम गर्ने अवसर दिलाउनु छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको मुहान फुटाउनु छ। अनुशासित, मर्यादित, खुशी र मुस्कानले भरिएको–स्वर्गजस्तै नेपाल निर्माण गर्नुछ । यो जिम्मेवारी तिम्रो काँधमा छ, बालेन–हो, यो जिम्मेवारी तिम्रो काँधमै छ ।

–मेघेन्द्र प्रकाश गिरी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =