सुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा पाँच दिनसम्म मनाइने सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज (बिहीबार) बाट सुरु भएको छ ।

आर्याअवलोकितेश्वरको नामबाट समेत चिनिने सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म खतमा राखेर त्यहाँ अवस्थित रथमा विधिपूर्वक विराजमान गराइसकेपछि औपचारिक रूपमा रथयात्रा सुरु भएको हो ।

आज पहिलो दिन रथलाई तीनधारा पाठशालाबाट तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने छ ।

पाँच दिनसम्म चल्ने यस जात्रामा, जात्रा अवधिभर सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखी सहरको विभिन्न ठाउँको परिक्रमा गराइन्छ ।

परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।

उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठानी जनबहालमा स्थापना गरिएको किम्बदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ति फेला परेकै स्थान ‘जमल’ मै रथ बनाउने चलन छ ।
काठमाडौँ मछिन्द्रबहाल र काभ्रे नालाको सेतो अनि ललितपुर बुङमती र चोभारको रातोसहित चार वटा मत्स्येन्द्रनाथ छन् ।

सेतो मत्स्येन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्दै आएका छन् ।

तस्बिरहरूः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =