मन्त्री बन्ने दौडमा छैन, पार्टीले योग्य ठाने जिम्मेवारी दिन्छः सुधन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेसँगै मन्त्री बन्ने चर्चा चुलिएको छ । विशेषगरी उनलाई गृहमन्त्री बनाउने सम्भावनाबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् ।

सांसद पदको शपथ लिन जाने क्रममा सञ्चारकर्मीले सोही विषयमा प्रश्न गर्दा गुरुङले आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे । ‘म मन्त्री बन्ने दौडमा पहिले पनि थिइनँ, अहिले पनि छैन। पार्टीले योग्य ठाने जिम्मेवारी दिन्छ, नदिए पनि आफ्नो कर्तव्य पालना गर्छु’ उनले भने ।

सांसद गुरुङले अब बन्ने सरकारले जेनजी आन्दोलनका मुद्दाहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उक्त विषयमा आफ्नो विशेष चासो रहेको उनको भनाइ छ ।

उनले कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरिनुपर्नेमा जोड दिए । ‘कार्की आयोगको प्रतिवेदन सबैले पढेका छैनन् । यसलाई औपचारिक रूपमा प्रकाशन गर्नुपर्छ, त्यसपछि कार्यान्वयनको कुरा आउँछ,’ उनले भने ।

सरकारभन्दा अघि सञ्चारमाध्यममार्फत प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक भएको पनि उनले बताए । पत्रकारहरूलाई प्रतिवेदन पूर्ण रूपमा अध्ययन गरेर जिम्मेवार रिपोर्टिङ गर्न सुझाव दिँदै उनले भने, ‘हेडलाइन बिगारेर हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =