सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने संलग्न सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि जारी सुनुवाइ तेस्रो दिन बिहीबार पनि नसकिएपछि आइतबारका लागि सारिएको हो । शुक्रबार रामनवमीका कारण सार्वजनिक बिदा परेकाले अब सुनुवाइ आइतबार मात्रै हुनेछ ।

बिहीबारको बहसमा महान्यायाधिवक्ता सबिता भण्डारी, नायब महान्यायाधिवक्ता सन्जिबराज रेग्मी तथा लामिछाने पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका थिए । आइतबार लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि जबाफी बहस हुने बताइएको छ ।

यसअघि निरन्तर चार दिन सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले अन्य प्रतिवादीहरूको समेत कसुर संशोधनसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो ।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते लामिछानेको हकमा निर्णय गरेकी थिइन् भने त्यसपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयमा फरार रहेका जिबी राई लगायतलाई पनि समेटिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको लिखित जवाफबाट उक्त निर्णयबारे थप तथ्य खुलेको भन्दै सर्वोच्चले सम्बन्धित कागजात झिकाउन आदेश दिएको थियो । तर महान्यायाधिवक्ताको लिखित जवाफमा उक्त विवरण स्पष्ट नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =