गृहमन्त्री अर्यालका १९१ दिने कार्यकाल- निर्वाचन सम्पन्न र कानुनी सुधार मुख्य उपलब्धि

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन् ।
बिहीबार गृह मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले जेनजी जनआन्दोलन पछिको सङ्कटपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराई संविधानलाई सही बाटोमा ल्याउन सफल भएको दाबी गरे ।
२०८२ भदौ ३० मा कार्यभार सम्हालेका अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निष्पक्ष निर्वाचनलाई मुख्य कार्यभार बनाएको बताए । उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको ठुलो योगदान रहेको उल्लेख गरे ।
कार्यकालका दौरान जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, ७२९ जना घाइतेलाई राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ताको व्यवस्था गरिएको जानकारी उनले दिए ।
बिदाईका क्रममा उनले भने ‘सबैभन्दा महत्त्वपूर्ण विषय निर्वाचन पश्चात् संविधानले सही बाटो समातेको छ । जेन–जी जनआन्दोलन पश्चातको अवस्थाबाट संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन अनिवार्य थियो, जुन सम्पन्न भइसकेको छ ।’
नीतिगत क्षेत्रमा ऐतिहासिक रूपमा दुई दर्जन कानुन तर्जुमा तथा संशोधन गरिएको र आन्दोलनमा क्षतिग्रस्त ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको बताए ।








