प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

काठमाडौँ । पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एकै साथ प्रवेश गर्दा स्वाभाविक रूपमा सबैमा चासो र आकर्षण देखियो ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदले आज पद तथा गोपनीयताको सपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसद अलमलमा परेर सपथ हुने समय २ः०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए ।

मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा चासो बढेको पाइयो । भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसदका मर्यादापालकलाई भ्याइनभ्याइ थियो ।

जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित भई आएका प्रतिनिधि रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ । विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको सपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यलाई पद तथा गोपनीयताको सपथ गराए ।

सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएको र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए । उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिएको थियो ।

कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगे ।

सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरू झन् अलमलमा परे । आफै गाडी चलाएर आएका नेता शाह सपथपछि अरुभन्दा चाँडै बाहिरिए । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो ।

नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवन परिसरमा पत्रकारका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो । हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र सपथस्थलमा प्रवेश पाए । दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भुईँतलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृश्य देखाइएको थियो ।

संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो । सपथपछि सांसदलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । सपथमा आएका सदस्यले आफ्ना परिवारका सदस्यलाई पनि ल्याएका थिए ।

रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए । सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसाकमा आउँदा जिज्ञाशाको पात्र बने । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसद आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए । अपाङ्गता भएका सांसद ह्विलचेयरमा आएका थिए ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =