गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भूमिका खेल्छौँ: एमाले सांसद थेवे

काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
पद तथा गोपनीयताको शपथअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठुलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिए । उनले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताए ।
उनले भने ‘संसदमा राष्ट्र र जनताको निम्ति देशको बलियो अर्थतन्त्र निर्माणको निम्ति, गरिबी उन्मुलनको निम्ति र समृद्ध नेपाल निर्माणको लागि महत्त्वपूर्ण भूमिका खेल्छौँ । जेन–जी प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । मिडियामार्फत आएको छ । सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक गरिसकेपछि आफ्नो धारणा सार्वजनिक गरौँला । मूलतः अब बन्ने सरकारलाई शुभकामना दिन चाहन्छु । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको जनादेश दिएको छ । यो जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस् ।’
गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।








