छ महिनामा जे गरियो, त्यो राम्रो गरियोः मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र सुशासनका लागि सरकारले सक्दो काम गरेको बताएका छन् ।

सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले निर्वाचन समयमै गर्नुपर्ने मूल जिम्मेवारी पूरा गरेको र सुशासनका निम्ति गर्न सक्ने सक्दो काम गरेको दाबी गरे ।

“कुनै पनि काम नरोकौँ भन्ने तरिकाले काम गरियो, प्रणाली बनाउने कर्मचारीतन्त्रले हो, कर्मचारीतन्त्रलाई विभिन्न आरोप पनि लाग्ने गरेको छ,” उनले भने, “त्यो भ्रम चिर्न जरुरी छ, काम गर्ने भनेको कर्मचारीतन्त्रले नै हो ।”

मन्त्री सिन्हाले गत भदौ २४ को अप्रत्याशित देशका संरचनामा भएको क्षति र नागरिकमा सुरक्षाको प्रत्याभूतिमा गर्नुपर्ने जरुरी भएको जनाउँदै सरकारी कोषलाई जोगाएर काम गर्नुपर्नेमा चुनौती रहेको स्मरण गरे ।

“भदौ २४ देखि २७ गतेसम्म सरकारको उपस्थिति शून्य भयो, हरितयार लुटेको प्रहरी, जलेका जुत्ता, कपडा लगाएर उनीहरूबाटै सुरक्षा लिनुपर्ने अवस्था थियो,” मन्त्री सिन्हाले भने, “छ महिनामा जे गरियो, त्यो राम्रो गरियो, केही गर्न बाँकी छ, आउने सरकारले गर्छ ।”

कानुनमन्त्री सिन्हाले कानुन मन्त्रालयका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर काम गरे । आजदेखि उनले औपचारिक रुपमा बिदाइ भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =