सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

चितवन । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागी हुन लागेका छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परीक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुने छन् ।
यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १०, रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४, भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परीक्षा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११, देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना विद्यार्थी सहभागी हुने छन् ।
एकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका १२ हजार ३४९ जना विद्यार्थी परीक्षा सहभागी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित छन् भने १ हजार ८४९ ग्रेड बृद्धिका विद्यार्थी रहेको उनले बताए । परीक्षा सहभागी हुने मध्ये प्राविधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टिविहीन ३ जना र सुस्तश्रवण ८ जना विद्यार्थी परीक्षा सहभागी हुने छन् ।
उनका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थी परीक्षा दिनेछन् । ३४ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रक्रिया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उनले बताए । उनका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थी कम सहभागी हुने छन् ।








