जेनजी आन्दोलनलाई उग्र बनाउन टीओबी समूह सक्रिय रहेको निष्कर्ष

काठमाडौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनअन्तर्गतको शान्तिपूर्ण प्रदर्शनलाई उग्र बनाउन ‘टीओबी समूह’ नामक समूहको सक्रिय भूमिका रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनअनुसार सो दिन दिउँसो करिब १२ बजेतिर चाबहिल, ओम अस्पताल क्षेत्र, धोबिखोला करिडोर र गौशालालगायत स्थानबाट करिब १०० मोटरसाइकलमा आएका युवाहरूले प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ती युवामध्ये केहीले ‘टीओबी’ लेखिएको कालो टी–सर्ट लगाएका थिए । उनीहरूले मोटरसाइकल पढ्काउँदै, होहल्ला गर्दै भीडलाई उक्साउने गतिविधि गरेको आयोगको ठहर छ ।

आयोगका अनुसार उक्त गतिविधिपछि प्रदर्शनकारीहरू थप आक्रामक बनेका थिए । उनीहरूले प्रहरीमाथि धक्कामुक्का गर्दै पानीका बोतल, ढुंगा, इट्टा, रड र गुलेली प्रयोग गरेर आक्रमण गर्न थालेका थिए ।

भीडले संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि स्थिति नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थिति नियन्त्रणका लागि प्रहरीले प्रारम्भमा माइकिङमार्फत प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरेको थियो । तर त्यसबाट अवस्था नियन्त्रणमा नआएपछि मात्र बल प्रयोग गरिएको आयोगले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अपरेशन इन्चार्ज सुन्दर तिवारी लगायतका प्रहरी अधिकारीहरूको बयान उद्धृत गर्दै आयोगले उक्त निष्कर्ष निकालेको हो ।

आयोगले प्रारम्भमा शान्तिपूर्ण रहेको प्रदर्शनलाई योजनाबद्ध रूपमा उग्र बनाउने प्रयास भएको संकेत गर्दै यस्ता समूहहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको औंल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =