आयोगको सुझावः नेपालका सुरक्षाकर्मीलाई भारत–चीनमा तालिम दिनुपर्छ

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपालको सुरक्षा प्रणाली र कूटनीतिक संरचनामा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकाल्दै छिमेकी मुलुकसँग सहकार्य बढाउन सुझाव दिएको छ ।
आयोगले सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि भारत र चीन का सुरक्षा निकायसँग समन्वयात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न कूटनीतिक पहल गर्नुपर्ने उल्लेख गरेको छ । ‘सुरक्षा निकायको प्रभावकारिता बढाउन छिमेकी देशहरूसँग संयुक्त प्रशिक्षण आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले नेपालको कूटनीतिक प्रणालीलाई थप व्यावसायिक र प्रभावकारी बनाउनुपर्ने औंल्याएको छ । राजदूत नियुक्तिमा दलगत भागबण्डा अन्त्य गरी योग्य, सक्षम र विज्ञ व्यक्तिलाई प्राथमिकता दिनुपर्ने सुझाव आयोगले दिएको छ ।
यसका लागि ‘कलेजियम प्रणाली’ वा परराष्ट्र विज्ञमार्फत चयन गर्ने व्यवस्था अपनाउनुपर्ने उल्लेख गर्दै ८० प्रतिशत नियुक्ति परराष्ट्र मन्त्रालय बाट र २० प्रतिशत अन्य क्षेत्रबाट गर्ने मोडेल प्रस्ताव गरिएको छ ।
‘थिंक ट्यांक’ र ट्र्याक–२ कूटनीति
आयोगले कूटनीतिमा सुधारका लागि विज्ञ समूह गठन गर्नुपर्ने र सेवानिवृत्त कूटनीतिज्ञहरूलाई Track–@ diplomacy मा उपयोग गर्नुपर्ने सुझाव दिएको छ । यसले नीतिगत निरन्तरता र गहिरो विश्लेषणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिवेदनमा सरकार गठन, नियुक्ति र परियोजनासम्बन्धी निर्णयमा बाह्य प्रभाव परेको भन्दै त्यस्ता अभ्यास अन्त्य गर्नुपर्ने उल्लेख छ । आन्तरिक समस्या देशभित्रै समाधान गर्ने र विदेशी हस्तक्षेप रोक्ने नीति आवश्यक रहेको आयोगको ठहर छ ।
आयोगले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गरेको छ । भावनात्मक अभिव्यक्तिभन्दा ऐतिहासिक प्रमाण र नक्साका आधारमा समाधान खोज्न सुझाव दिइएको छ ।
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन यातायात, रेल र हवाई कनेक्टिभिटी विस्तार गर्नुपर्ने र भएका सम्झौता कार्यान्वयनमा तीव्रता दिनुपर्ने आयोगको भनाइ छ ।








